मानवअधिकार, लोकतन्त्र र महिला अधिकारका लागि सङघर्षशील महिलाहरुको साझा अभियान महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले आफ्नो पाँचौ साधारणसभा सम्पन्न गरिसकेको छ । मानवअधिकारको आवाज उठाउँदा, आफ्नो कामको पहिचान, सुरक्षा र सम्मानका लागि आवाज उठाउँदा महिला भएकै कारण आफ्नै ज्यान समेत जोखिममा रहेको महिला मानवअधिकार रक्षकहरुले पटक पटक सार्वजनिक गर्दै आएका छन् । मानवअधिकार संरक्षण संबद्र्धनका लागि समुदायस्तरमा राज्यले गर्नुपर्ने तमाम दायित्व महिला मानवअधिकार रक्षकहरुले निर्वाह गर्दै आएको तथ्य हामी सबैका सामु छर्लंगै छ । व्यावहारिक रुपमा उपभोग गर्न अझै सहज नभए पनि सामाजिक संरचनाको कारण दोस्रो तेस्रो दर्जामा राखिएका महिला तथा यौन अल्पसंख्यक अधिकारकर्मीहरुको निरन्तरको वकालतले हिंसा मुक्त भई बाँच्न पाउने अधिकार, सम्मानित जीवन बाँच्न पाउने अधिकार, शारीरिक अखण्डताको अधिकार, यौन तथा प्रजनन अधिकार जस्ता अधिकारहरु सम्बोधन गर्न सरकारलाई बाध्य बनाएको तथ्य सबैले स्वीकार्नै पर्दछ ।
विश्वमा बढ्दै गएको सैनिकीकरण, नव उदारवादी नीतिहरु तथा जडसूत्रवादको कारण झनै वलियो हँुदै गएको पितृसत्तात्मक सामाजिक संरचनामा महिला अधिकारको आवाज उठाउनु आफैमा चुनौतीपूर्ण काम हो । महिलाका मौलिक अधिकार हनन्का घटना विरुद्ध आवाज उठाउने, उनीहरुको सुरक्षा र सम्मानको लागि दबाब सृजना गर्ने, पैरवी गर्ने तथा महिलाको आफ्नो अधिकारप्रति सचेत गराउँदै अधिकार प्राप्तिका लागि संगठित गर्ने जस्ता काममा निरन्तर लाग्ने अधिकारकर्मीहरुको सम्मान र उचित मूल्याङकन नभएसम्म समुदायमा मानवअधिकार संस्कृति निर्माण हुनसक्दैन ।
पित्तृसत्तात्मक मूल्य मान्यतामा आधारित हाम्रो परम्परा, धर्म, संस्कार र चालचलनका हिमायतीहरु महिला मानव